News Griha :: न्यूजगृह
तनहुँ १ उपनिर्वाचनः जसले १०० मत पनि ल्याउन सकेनन् 

काठमाडौं— गत आइतबार भएको उपनिर्वाचनमा तनहुँ १ मा ९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

तनहुँ १ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भएका छन् ।

उनले सत्ता गठबन्धनका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईलाई पराजित गरेका हुन् । भट्टराईले २० हजार १२२ मत मात्र प्राप्त गरे ।

तनहुँ १ मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दिएको थियो  । एमालेले गत ४ मङ्सिरमा काठमाडौं ६ मा पराजित सर्वेन्द्र खनाललाई  उपनिर्वाचनमा उम्मेदवार भएको थियो । खनाल ८ हजार ४८८ मतसहित तेस्रो भए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तनहुँ १ मा शोभा गुरुङलाई उठाएको थियो । उनी एक्लो महिला उम्मेदवार थिइन्  ।

गतमङ्सिरको निर्वाचनमा राप्रपाले राम्रो ‘कमव्याक’ गरेपनि उपनिर्वाचनमा भने खासै उल्लेख मत ल्याउन सकेन । गुरुङले २१८ मत मात्र प्राप्त गरिन् । यस्तै, मङ्गोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रेमबहादुर थापाले १६६ मत पाए । 
१०० मत पनि नपाउने उम्मेदवार

तनहुँमा गत आइतबार भएको उपनिर्वाचनमा ४ जना उम्मेदवारले सय मत पनि प्राप्त गरेनन्  । नवगठित नागरिक उन्मुक्तिपार्टीले समेत तनहुँमा उम्मेदवारी दिएको थियो ।

उन्मुक्ति सत्ता गठबन्धनमा आवद्ध दलसमेत हो । गत मङ्सिरमा प्रतिनिधि सभा तर्फ तीन सिट जितेको उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री छिन्  । उन्मुक्ति पार्टीबाट तनहुँ १ मा उम्मेदवारी दिएका भिमबहादुर सुनारले ९९ मत मात्र प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका उममेदवार पूर्णबहादुर रानाले ८७, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रामप्रसाद प्रजापतिले ३१ मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का गणेश श्रेष्ठले ५ मत प्राप्त गरे । 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:५९
Weather Update