
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरू पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन् ।
संसद्मा सांसदहरूले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्नहरू र त्यसको अवस्थाबारे आम नागरिकले हेर्नेगरी वेबसाइटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी हुन् ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा उनले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि दोहोर्याइन् ।
‘सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ । समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु,’ सांसद कार्कीले भनिन्, ‘के–के प्रश्न उठे, ती प्रश्नहरूको अवस्था के छन् ? आम नागरिकले हेर्नेगरी वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस् ।’
उनले ललितपुरमा स्वास्थ्य विमा, स्वास्थ्यकर्मीहरूको थप दरबन्दी र नख्खु–भैंसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गरिन् ।
सांसद कार्कीले सरकारका मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्तिसमेत जनाइन् ।













