News Griha :: न्यूजगृह
सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने

चितवन— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताएका छन् । 

चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताए । जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफु चुनावी मैदानमा आउनु परेको भन्दै उनले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताए ।

सामान्य त्रुटिका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनः मत माग्न आउनु परेको भन्दै उनले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताए । 

विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै संसद्मा रहँदा देशको सुशासन, गरिबी, अशिक्षा ,भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए । 

सुरुवातीको वर्ष विकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षमा देखिने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । उनले प्रतिस्पर्धी उम्मेदवार र उनीहरूका मतदातालाई समेत आभार व्यक्त गरे । 

उनले भने, ‘निर्वाचनको समयमा केही कमी कमजोरी भए क्षमा चाहन्छु । नयाँ दल भएकाले राजनीतिक अभ्यास सिक्दै गरेका छौँ । गल्ती भए माफ गर्नुहोला ।’ नेपाली जनताले स्वर्णिम युगको खोजी गरिरहेको सङ्केत उपनिर्वाचनबाट दिएको उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १६:०२
Weather Update