
गोरखा— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त मुलुकको परिवर्तन उल्ट्याउन षड्यन्त्र र घेराबन्दी भइरहेको दाबी गरेका छन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले मंगलबार गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा आयोजित भूकम्प स्मृति दिवस कार्यक्रममा उनले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान् उपलब्धिको रक्षा गर्नुपर्ने बेला आएको बताए ।
पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उनले त्यसकाविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई भ्रममा नपरी गलत प्रवृत्तिलाई असफल पार्नुपर्नेमा जोड दिए ।
‘नेपालमा राजनीतिक पार्टीले ठूलो युगान्तकारी परिवर्तनका लागि संघर्ष गरेका छन्,’ उनले भने,‘यो परिवर्तनलाई संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो, अहिले त्यहीँ परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान् उपलब्धिको रक्षा गर्नु आवश्यक छ ।’
उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तार गर्नका लागि भइरहेको प्रयत्नलाई बदनाम गर्न खोजिएको समेत बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भूकम्पलगायतका विपतलाई रोक्न नसके पनि विपत्बाट हुने क्षतिलाई न्यूनीकरणका गर्न योजना निर्माण गरिरहेको बताए ।













