
काठमाडौं— नेपाल प्रहरीको विशिष्टीकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा बिहीबारआयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरे।
उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ। पुस्तकमा ट्राफिक प्रहरीको इतिहास, विकासक्रम, पोशाक परिवर्तन, घोडचढी प्रहरी, सडक सुरक्षा कार्यक्रमसँग हालसम्म गरिएका विविध गतिविधिलाई तस्बिरमा प्रस्तुत गरिएको छ। नेपालमा पहिलो पटक सवारिसाधन भित्रिएपछि २००७ मा रामदलमार्फत ट्राफिक व्यवस्थापन गरिएको इतिहास छ।
औपचारिक रूपमा २००९ सालमा ‘ट्राफिक पुलिस डिटचम्यान्ट’को नामबाट ट्राफिक प्रहरीको प्रारम्भ भएको थियो। पुस्तकले ट्राफिक प्रहरीको विकासक्रम, त्यसपछिका महत्त्वपूर्ण अभियान एवं गतिविधिलाई तथ्यपरक बनाउने, सडक व्यवस्थापनका मुख्य सरोकारवाला निकायको भूमिका, समन्वय र सहकार्यलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।
ट्राफिक प्रहरीको संस्थागत अभिलेख प्रभावकारी नहुँदा महत्त्वपूर्ण इतिहास लोप हुने क्रममा रहेकाले सो पुस्तक प्रकाशन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
बढ्दो सहरीकरण र जनघनत्वका अनुपातमा वृद्धि भएका सवारी साधनको सङ्ख्या, सीमित सडक र पूर्वाधारका अभावका बीच ट्राफिक व्यवस्थापनमार्फत नागरिकको जीउधनको सुरक्षा गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएका छन्। आर्थिक वर्ष २०७९–८० सम्ममा काठमाडौं उपत्यकामा १८ लाखभन्दा बढी सवारी साधन दर्ता भएका र तीमध्ये दैनिक करिब १४ लाख सवारी साधन उपत्यकाकामा सडकमा गुड्ने आकलन गरिएको छ।
काठमाडौंमा एक हजार एक सय १३ ट्राफिक दरबन्दी रहेकामा सोभन्दा ६७ प्रतिशत बढी अर्थात् एक हजार आठ सय ६६ जनशक्ति ट्राफिक व्यवस्थापनमा परिचालन भएका छन्। ट्राफिक प्रहरीले सडक केन्द्रित सुधारका कार्य, जनचेतना अभिवृद्धि र दुर्घटना न्यूनीकरणमा विशेष योजना अघि बढाउँदै आएको छ।
उपत्यकामा बर्सेनि सानाठूला करिब १० हजार सडक दुर्घटना हुने गरेका तथ्याङ्क छ। ती दुर्घटनामा करिब दुई सयको मृत्यु तथा आठ हजारभन्दा बढी घाइते हुने गरेका छन्। मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन (लापसे) गरेर तीव्रगतिमा सवारी चलाउन निरुत्साहन गर्दै दुर्घटना घटाउन ट्राफिक प्रहरीले मापसे र लापसे जाँचलाई तीव्र पारेको छ।