
काठमाडौं— जारी युरोकपमा आजदेखि क्वार्टरफाइनलका खेलहरू सुरु हुँदै छन्। आज क्वार्टरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार राति ९:४५ बजेदेखि सुरु हुनेछ।
स्पेनले राउन्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वार्टरफाइनलमा पुगेको हो। त्यसैगरी जर्मनीले राउन्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो।
यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ।
स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन्। जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ। त्यस्तै ९ खेल बराबरीमा सकिएका छन्।
युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ। स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो। त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो।
त्यसैगरी यस युरोकपको आयोजकसमेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ। जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो।