News Griha :: न्यूजगृह
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, मेसीले पेनाल्टी मिस गरे

काठमाडौं— अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। क्वार्टरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।

पेनाल्टी सुटआउटमा लियोनेल मेसीले अर्जेन्टिनाका लागि हानेको पहिलो पेनाल्टी मिस गरेका थिए। मेसीले हानेको बल बारमा लागेर बाहिरिएको थियो। तर अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जित सुनिश्चित भएको हो। इक्वेडरका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए।

यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिना र इक्वेडरले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। कोपा अमेरिकाको क्वार्टरफाइनल देखिका खेलमा ३० मिनेटको अतिरिक्त समय राखिएको छैन।

खेलको ३५औ मिनेटमा लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो भने खेलको ९० मिनेटपछिको इन्जुरी समयमा केभिन रोड्रीगेजले गोल गर्दै इक्वेडरका लागि खेल बराबरी गरेका थिए।

अब सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्ने छ। यो खेल जुलाई ९ मा हुने छ। 

  

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:२४
Weather Update