राजनीति
उपनिर्वाचन मतपरिणामपछि कांग्रेस महामन्त्रीको टिप्पणी– रूपान्तरित हुने सन्देश दिएको छ

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरूलाई रूपान्तरित हुने सन्देश दिएको बताएका छन् ।
आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनको मतपरिणामलाई लिएर महामन्त्री शर्माले साे टिप्पणी गरेका हुन् ।
उपनिर्वाचनमा तीन वटा क्षेत्रमध्ये चितवन–२ र तनहुँ–१ रास्वपाले तथा बारा–२ जसपाले जितेका छन् । चितवन र तनहुँमा कांग्रेस उम्मेदवारले लज्जास्पद हार व्यहोरेका थिए ।
महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्,‘परिणामले हामीलाई रूपान्तरित हुने सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’
मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै सांसदसमेत रहेका शर्माले लेखेका छन्,‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० ०६:५८













