
काठमाडौं— आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा ४ मंसिरको चुनावमा भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा खुम्चियाे ।
तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार बढी मतान्तरले पराजय भएको छ । चितवन–२ मा मंसिरमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७५२ मत जति पनि अहिले रामप्रसाद न्यौपानेले ल्याउन सकेनन् ।
उनले पोखरेलले भन्दा ३ हजार ७८६ कम मत ल्याए । सो निर्वाचन क्षेत्रबाट न्यौपानलाई १० हजार ९३६ मत मात्रै प्राप्त भयो । सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी भए । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए । एमालेका न्यौपाने लामिछानेभन्दा ४३ हजार ७८० मतले पछि परे ।
तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुगे । खनालले १० हजार मत पनि कटाउन सकेनन् । उनी ८ हजार ४८८ मतमा सीमित भए । सो निर्वाचन क्षेत्रमा रास्वपाका डा.स्वर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भए भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे । विजयी वाग्लेभन्दा एमालेका खनाल २६ हजार ४३१ मत अन्तरले पछि परे ।
बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार २१६ मत मात्रै प्राप्त गरे । सो क्षेत्रबाट विजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४१५ मत ल्याए भने उपविजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत ल्याएका थिए । विजयी यादव भन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परे ।













