News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा आज संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने

काठमाडौं— प्रतिनिधि सभाको बुधबारको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने भएको छ ।

सिंहदरबारमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूबीच सहमति नजुट्दा प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धी विधेयक पेस नहुने भएको हो । साथै प्रतिनिधि सभाको आजको बैठकमा संसदीय सुनुवाई समिति र अन्य विषयगत १० समितिका सदस्यहरूको नाम पनि पेस नहुने भएको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक परिषद्सँग सम्बन्धी विधेयक कन्टेनमा छलफल गर्ने सन्दर्भमा केही विषयमा सहमति जुट्न नसक्दा आज संसदमा पेस हुन नसक्ने बताए । 

उनले संसदीय १० विषयगत समिति र दुई संयुक्त समितिका सदस्यहरू पनि आजको बैठकमा पेस नहुने बताए । उनले समितिमा सदस्यहरू पेस हुन नसक्नुमा नेपाली कांग्रेससहितका केही दलहरूले सदस्यहरूको नाम दिनका लागि बिहीवारसम्मको समय मागेको बताए । 

संवैधानिक परिषद्मा अध्यक्ष र उपस्थित संख्याको ५० प्रतिशत भन्ने कुराले समितिको बहुमतलाई अस्वीकार गर्न खोजेको देखिएको भन्दै अध्यक्ष अनिवार्य नै हुनुपर्ने, अध्यक्षले नमान्दा कुनै निर्णय नै नहुने, जस्तो गरी आएको प्रस्ताव सच्याउनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारे । 

संसद्का समितिहरू बनाउने कुरामा कुनैपनि बहानामा ढिलो गर्न नहुने पनि स्पष्ट पारे । 

त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलका शीर्ष नेताहरूका बीचमा संसदभित्रका विषयमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा छलफल सकारात्मक रहेको बताए । उनले छलफल टुंगिन नसक्दा समितिहरू बन्न नसकेको स्पष्ट पारे । 

प्रमुख प्रतिपक्ष दललाई सार्वजनिक लेखा समितिको मात्रै सभापति पाउने अभ्यास रहेको तर, शीर्ष तहबाट तीनवटा समिति सभापति पाउने भएकोप्रति असन्तुष्टि जनाएको देख्न सकिन्छ । 

नेपाली कांग्रेसले अहिलेसम्मको परम्परा र पद्धतिभन्दा माथि रहेर प्रमुख प्रतिपक्षी दललाई तीनवटा समितिको नेतृत्व गर्न दिएको बताउँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १४:१५
Weather Update