काठमाडौं— राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि पाँच सय र हजार रुपैयाँका नोट छपाइ रोक्नुपर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा देवकोटाले बजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिए भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने दाबी गरे ।
‘बजारमा लगानी गर्नु पर्ने पैसा घुस्याहा कर्मचारी, घुस्याहा नेता, दलाल, विचौलियाले बोरामा पैसा लुकाए राख्ने गरेका छन भन्ने सुनिन्छ,’ सांसद देवकोटाले भने, ‘मेरो अनुरोध छ । रु पाँच सय र एक हजारका नोट छाप्न बन्द गरियोस् । बजारबाट सबै नोट खिचियोस् । यसले केही हदसम्म भए पनि भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउँछ ।’
उनले महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार सार्वजनिक ऋणको अधिकांश हिस्सा प्रशासनमा खर्च भएको र अहिले ऋण लिएर चालु खर्च धान्नुपर्ने अवस्था रहेको बताए ।
उनले नेपालमा वैदेशिक ऋण घट्दो क्रममा रहेको, राजस्व संकलन अनुपात भारीमात्रामा घटेको, उद्योगी व्यवसायी धराशायी बनेको, पुरानो कर्जा तिर्न नयाँ कर्जा लिनुपर्ने अवस्था रहेको बताए । उनले आर्थिक वर्षको अन्त्यमा ठूलो बजेट रकमान्तर गर्ने, बिना आधार बहुवर्षीय आयोजना स्वीकृत गर्दा आर्थिक अराजकता बढ्दै गएको उल्लेख गरे ।













