
काठमाडौं— पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन् ।
तत्कालीन दश वर्षे जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका विद्यार्थी नेता पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रमलाई बुधबार (१३ वैशाख) पोखरामा सम्बोधन गर्दै उनले विभिन्न मानिसका चलखेल र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले गर्दा आयोगसम्बन्धी विधेयक लामो समय अड्काएर राखिएको बताए ।
‘शान्ति प्रक्रिया सुरु भएको र संविधान निर्माणको लामो समय व्यतीत हुँदासमेत शान्ति प्रक्रियामा व्यवस्था भएका बेपत्ता भएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएको छैन,’ उनले भने ।
हालसालै मात्र प्रमुख दलहरूबीच सो सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष डा.भट्टराईले भने,‘विधेयक विशेष समितिमार्फत छिटो अघि बढाउने र आयोगबाट टुङ्गो लगाउने भन्ने भएको छ । अब आरोप प्रत्यारोप नगरिकन संवेदनशील विषयलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्दछ ।’
डा.भट्टराईले शहीद, बेपत्ता तथा घाइतेको विषय माओवादीको मात्र विषय नभएको बताए । जनुयद्धले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशीतालगायत विषय सबै पार्टी र जनताको भएकाले त्यसका लागि लड्नेको समस्या पनि सबैको भएको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री डा.भट्टराईले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न नसके देश डरलाग्दो अराजकतामा फस्नेसमेत उल्लेख गरे । ‘देशमा चरम असन्तुष्टि छ । केही समययताका परिघटना हेर्नुस् वा उपनिर्वाचनलाई हेर्नुस् । जुन प्रकारका असन्तुष्टिहरु व्यक्त भइराखेका छन्, यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ डा.भट्टराईले भने ।
उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर छिटोभन्दा छिटो जनतालाई सुशासन र समृद्धिको जनताको चाहना पूरा गर्नेतर्फ लाग्नुपर्ने विचार व्यक्त गरे ।













