News Griha :: न्यूजगृह
स्पेनले जित्यो चौथो पटक युरोकप उपाधि

काठमाडौं—  स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ।

जर्मनीको बर्लिनमा भएको फाइनलमा इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे। इङ्ग्ल्यान्डका कोल पाल्मरले एक गोल फर्काए।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो।

खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए। तर ७३औं मिनेटमा कोल पाल्मरले इङ्ग्ल्यान्डका लागि बराबरी गोल फर्काए।

निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको थियो बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो। स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ।

इङ्ग्ल्यान्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ। यसअघि २०२१ मा भएको युरोको फाइनलमा इङ्ग्ल्यान्ड घरेलु मैदानमै इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। 

स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो। समूह चरणमा इङ्ग्ल्यान्डले क्रोएसियालाई ३-० तथा इटाली र अल्वानियालाई समान १-०ले पराजित गर्दै क्लिन सिट राखेको थियो।

यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४-१ ले पराजित गरेको स्पेनले क्वार्टरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इङ्ग्ल्यान्डलाई समान २-१ को नतिजामा पराजित गरेको हो। स्पेनले प्रतियोगिताभर कुल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०६:०१
Weather Update