
काठमाडौं— नेपालले महिला एसिया कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो।
यूएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन्।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो।
यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन्।
त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् भने सबनम राई, कविता जोशी र कृतिका मरासिनीले एक/एक विकेट लिएका थिए।
अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्दै छ भने यूएईले आइतबार नै भारतको सामना गर्दै छ।













