
काठमाडौं— जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ।
कर्णाली प्रदेशका एकदुई स्थानमा बुधबार रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा विहीबार बिहानदेखि शुक्रबार बिहानसम्म भारी वर्षाको सम्भावना छ। शुक्रबारको दिन बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा सो सम्भावनाबारे उल्लेख छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ। त्यसैले देशैभर साधारणतया बदली छ।
बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले वर्षा भइरहेको छ।
पछिल्लो ६ घण्टायता गण्डकी प्रदेशको नवलपुर देउरालीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। त्यहाँ ४५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ।
यसैगरी धादिङको गजुरीमा २८.२, गोरखाको बारपाकमा २६.६, लम्जुङको बेंसीशहरमा २३.८ र पाल्पाको अर्चलेमा २१.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।













