News Griha :: न्यूजगृह
‘वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार’

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गरेका छन् ।

उनले नयाँ विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखेलसमेत हुने गरेको दाबी गरे ।

नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकका अवसरमा बोल्दै पर्यटनमन्त्री किराँतीले निगम सुधार्ने व्यावसायिक कार्ययोजना बनाउने नभई पैसा असुल्ने कार्ययोजना बनाउने गरेको आरोपसमेत लगाए ।

‘वायुसेवा निगम कमजोर बनाउने नेतृत्व नै रहेछन् । म मन्त्री भएको सय दिन भयो, यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो, वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन राजनीतिक नेतृत्वकै ठूलो हात रहेछ । निगमका कर्मचारी पनि चोखा छैनन् ।’

मन्त्री किराँतीले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपरी निगमलाई सुधार्न भरपुर प्रयत्न गर्ने बताए । ‘विगत जे भयो, अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ । तपाईंहरूसँग मलाई विश्वास छ, अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छेजस्तै डिस्चार्ज गर्नुपर्छ’,उनले भने ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १९:०३
Weather Update