News Griha :: न्यूजगृह
नवनियुक्त मुख्यमन्त्री भन्छन्– सरकारकाे नेतृत्व आलोपालो हुन्छ, मन्त्रालयको सङ्ख्या बढाउँदैनौँ

पोखरा— गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेले हाल कायम रहेका सात मन्त्रालयलाई यथावत् राख्ने बताएका छन् । यसअघि गण्डकीमा १२ मन्त्रालय रहेकामा अघिल्लो सरकारले घटाएर मन्त्रालय सातमा झारेको थियो ।

प्रदेश प्रमुखबाट बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएसँगै सञ्चारकर्मीसँग कुराकानीमा उनले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने र आफूलाई समर्थन गर्ने सबै दललाई सरकारमा समेत सामेल गर्ने बताए ।

उनले वर्तमान सत्ता गठबन्धन संसद्को पूरा कार्यकाल कायम रहने र प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुने बताए ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

पाण्डेलाई नेपाली कांग्रेसका २७,  नेकपा माओवादी केन्द्रका सात र स्वतन्त्र एक गरी ३५ प्रदेश सभा सदस्यको समर्थन छ । १२ वैशाखमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

यसअघि मुख्यमन्त्री खगराज अधिकारीले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  २१:५४
Weather Update