News Griha :: न्यूजगृह
पहिरोले कान्ति लोकपथ अवरुद्ध

हेटौंडा— हेटौंडाबाट राजधानी प्रवेश गर्ने कान्ति लोकपथको मकवानपुर भीमफेदी गाउँपालिका—८ महादेवटार सडकखण्डमा गएराति पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

शुक्रबार रातिदेखि परेको वर्षाले कान्ति लोकपथको महादेवटारमा माथिबाट पहिरो खसेको र तल पनि सडक धसिएकाले कान्ति लोकपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले बताए। ‘ठिंगन बजारबाट करिब ८ किलोमिटरको दूरीमा रहेको उक्त सडकखण्डको ट्रयाक नै बगाएको छ,’ उनले भने।

सडकको करिब ७० मिटर जति ट्रयाक नै बगाएकोले सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ। सडकमा भएको अवरोध पन्छाएर कान्ति लोकपथ सञ्चालनमा ल्याउन सडक विभाग, फास्ट ट्रयाकसँग समन्वय भइरहेको र प्रहरी टोलीले अवरोध पन्छाउने काम गरिरहेको मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले बताए।

बागमती पुल र ठिंगन बजारको बीचमा पर्ने उक्त सडक खण्डमा बारम्बार पहिरो जाने गरेको छ। एक साताअघि पनि सोही ठाउँमा पहिरो गएर ५ घण्टा सडक अवरुद्ध भएको थियो।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०८:४९
Weather Update