
डोटी— डोटीमा जङ्गली जनावर मार्न गएका युवकको गोली लागेर मृत्यु भएको छ।
शुक्रबार बिहान डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा गोली लागेर ३० वर्षीय अमर थापाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विष्णुहरि कोइरालाका अनुसार गोली लागेपछि थापाको घटनास्थलमै मृत्यु भएको हो।
थापामाथि कसरी गोली प्रहार भएको भन्नेबारेमा अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए।
उनका अनुसार थापासँगै अरू दुइजना पनि शिकार खेल्न जङ्गल गएका थिए। पूर्वीचौकी गाउँपालिका–६ का ३३ वर्षीय रामबहादुर साउद र ४२ वर्षीय दिल्लीबहादुर साउदलाई पक्राउ परेका छन्।
उनीहरूलाई धानबारीमा लुकेको अवस्थामा शुक्रबार राति करिब १० बजेतिर डोटीको नारीदाङ भन्ने ठाउँबाट पक्राउ गरिएको कोइरालाले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको र घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।













