News Griha :: न्यूजगृह
एउटा विधेयक पारित नगरी सकियो पहिलो संसद् अधिवेशन

काठमाडौं— प्रतिनिधिसभाको पहिलो अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य भएको छ । गत पुस २५ देखी बैशाख १५ गतेसम्म सञ्चालन भएको बैठकले एउटा पनि विधेयक पारित गर्न सकेन । 

पहिलो संसद् बैठक शुक्रबार राती १२ बजेबाट अन्त्य भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार संसद् बैठकमा पेश भएका केही विधेयकलाई सम्बन्धित समितिमा पठाइएको तथा राष्ट्रियसभाबाट उत्पत्ति भई आएका विधेयकहरू माथि दफावार छलफल भने सम्पन्न भएका छन् । 

तर, झन्डै ४ महिनासम्म चलेको संसद्ले कुनै पनि विधेयक भने पारित गर्न सकेन । 'यस अवधिमा प्रतिनिधि सभामा उत्पत्ति भएको सम्पत्ति सुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ', विधेयक सम्बन्धी पहिलो अधिवेशनले गरेको काम कारबाहीका बारेमा भनिएको छ । 

यसैगरी, राष्ट्रियसभाबाट उत्पत्ति भएर आएका विधेयक माथिको दफावार छलफल भने पहिलो अधिवेशनमा सम्पन्न भएको छ । 'राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ भने भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक माथि सभामा सैद्धान्तिक छलफल भैसकेको अवस्था छ', पहिलो अधिवेशनमा भएको काम कारबाहीको विवरण सार्वजनिक गर्दै सचिवालयले भनेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०९:००
Weather Update