News Griha :: न्यूजगृह
संसद अधिवेशन प्रधानमन्त्री नियुक्तिका लागि मात्रै भयो : रविन्द्र मिश्र

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले शुक्रबार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम हुन नसकेको बताएका छन् । 

शनिबार माइतीघर मण्डलमा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न धर्नास्थल पुगेका मिश्रले भने, ‘चलेको संसदमा प्रधानमन्त्री नियुक्ति गर्नेबाहेक कुनै काम भएन ।’

उनले विवेक हराएर निदाएका नेताहरूलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानुन निर्माण गर्न आवश्यक रहेको बताए । 

‘विवेक हराएर निदाएका नेताहरूलाई विवेक जगाउन उहाँ रातभर आएर सडकमा सुत्नुभयो । त्यसको धेरै ठूलो प्रतीकात्मक अर्थ छ । उहाँ युवाको प्रेरणाको पात्र हुनुहुन्छ, सरकारले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ,’ उनले भने, ‘बजेट आउनुअघि सरकारलाई दबाब दिन आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानुन निर्माण गर्न दबाब दिनुभएको छ, यो एकदमै राम्रो छ ।’

उनले आविष्कार क्षेत्रलाई प्रवर्द्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने पनि स्पष्ट पारे । 

वरिष्ठ उपाध्यक्ष मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताए । उनले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर, आविष्कारको प्रवर्द्धन गर्न बजेट नछुट्याउनु सरकारको लापर्बाही रहेको बताए । 

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका मागको समर्थन गर्न राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसहितका नेताहरू माइतीघर पुगेका थिए । 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १४:१३
Weather Update