News Griha :: न्यूजगृह
पोखरामा केपी ओलीको पुत्ला दहन

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखरामा केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । मिथ्या आरोप लगाएर राजसंस्था र राजपरिवारका सदस्यको बदनामी गरेको भन्दै राप्रपा कास्कीले एमाले अध्यक्ष ओलीको पुत्ला दहन गरेको हो । 

राप्रपा कास्कीले ओलीको पुत्ला दहन गर्दै उनले सार्वजनिक मञ्चमा राजसंस्थामाथि लगाएको आरोप फिर्ता लिनुपर्ने बताएको छ । केही दिन अगाडि मात्रै एमाले अध्यक्ष ओलीले ‘ट्वीटरमा अन्टसन्ट लेखेर राजपरिवारका सदस्यहरू धेरै फुरफुर नगर्न’ धम्की दिएका थिए । ईलाममा भएको एक कार्यक्रममा ओलीले ‘धेरै फुरफुर गरे राजपरिवारका सदस्यहरूको हिसाबकिताब हुने’ चेतावनी दिएका थिए । 

शनिबार साँझ पोखराको अमरसिंहचोकमा राँके जुलुससहित प्रदर्शन गरेको पार्टीको समूहले ओलीको पुत्ला दहन गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । ‘केपी ओलीले राजसंस्थामाथि तल्लो स्तरमा झरेर जुन प्रतिक्रिया दिए, त्यसैको विरोधमा हामीले उनको पुत्ला दहन गरेका हौँ,’ गिरीले भने, ‘उनले आफ्नो प्रतिक्रिया तत्काल फिर्ता लिऊन् भन्ने हाम्रो माग हो ।’

प्रदर्शनको क्रममा राप्रपा कास्कीले अयोग्य लडाकुलाई राज्यकोषबाट २ लाख रुपैयाँ उपलब्ध गराउने भन्ने विषयमा पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको पनि विरोध जनाएको थियो । राज्यकोषबाट अयोग्य लडाकुको नाममा पैसा वितरण गर्नु अनैतिक कार्य भएको भन्दै राप्रपा कास्कीले विरोध जनाएको हो । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १६:२१
Weather Update