News Griha :: न्यूजगृह
महाकाली सन्धि हामीले सच्याएका हौँ : ओली

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि आफूहरूले सच्याएको दाबी गरेका छन् । 

बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमति खारेज गरेर आफूहरूले बाँध बाँध्न मात्रै जमिन दिने गरी सो सन्धिलाई सच्याइएको ओलीको तर्क छ । 

‘जमिन हाम्रो भारतलाई दिए भनेर गिरिजाप्रसाद कोइरालाले जमिन लिएर सम्झौता होइन सहमति भनेर, समझदारी भनेर नेपाली जनतालाई ढाँटेका थिए । त्यस ढाँटेकोलाई सच्याएर हामीले समझदारी होइन, सम्झौता हो, यो दुई तिहाईमा आउनुपर्छ र दुई तिहाईले जमिन दिन कसैले पनि मिल्दैन, जमिन दिने होइन, हाम्रो जमिनमा बाँधसम्म बाँध्न दिन सकिन्छ । हाम्रो जमिनमा बाँध बाँध्न हामीले दियौँ,’ उनले थपे, ‘जमिन हाम्रो हो । पहिले चाँही बाँध बाँध्नका लागि जमिन दिने भनिएको थियो । हामीले हाम्रो जमिनमा बाँध बाँध्न दियौँ । एकदमै फरक छ ।’

काठमाडौमा आयोजित एक कार्यक्रममा महाकाली सन्धि आफूहरूले सच्याएपछि त्यसबाट अनेक फाइदा भइरहेको पुरानै अडान उनले दोहोर्‍याए । ‘४ अर्ब त वर्षमा त्यो सम्झौता गरेको हुनाले पाइराखेको छ । अरू पानीका फाइदाहरू, चाँदनी–दोधरालाई १० क्युमेक्स पानी दिने कुराहरू, २८ क्युमेक्स पूर्वतिर ल्याउने कुराहरू । यस्ता अनेक फाइदाहरू छन् । माथि पञ्चेश्वरका अनेक फाइदाहरू छन्,’ उनले भने । 

महाकाली सन्धिलाई सच्याउने काम आफूहरूले प्रतिपक्षमा रहेर गरेको तथ्य अहिले नबुझ्नेहरूले पछि बुझ्दै जाने बताए । 

‘फेरि बीचमा २०५४ सालमा महाकाली सन्धिको अत्तो थापेर पार्टी फुटाउने काम भयो । महाकाली सन्धि, नबुझ्नेले अलि पछि बुझ्छन् । कोहीकोही नबुझी बिते भने तिनका सन्तानले पछि बुझ्छन् । नपढीकन बिते भने के गर्ने ? तिनका सन्तानले बुझ्लान्,’ उनले भने, ‘महाकाली सन्धि सच्याइएको सन्धि हो । हामीले गरेको सन्धि होइन । हामीले सच्याएको चाहिँ हो ।’

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १८:१२
Weather Update