
काठमाडौं— क्यानडा भ्रमणमा रहेको नेपालले लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अन्तिम खेल खेल्दैछ।
क्यानडामा भएको लिग–२को अन्तिम खेल नेपालले ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टारियोमा नेपाली समयअनुसार आज बेलुकी ८४५ बजे खेल सुरु हुनेछ।
नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ। घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल पराजित भएको छ।
यसअर्थ आजको खेल नेपालका लागि महत्त्वपूर्ण हुनेछ। ओमानसँगको पहिलो खेलमा नेपाल एक विकेटले पराजित भएको थियो। विश्वकप लिग–२ मा नेपालले कुल ७ खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ। गत फेब्रुअरीमा घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्सविरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो।
नेपाल ओमानको चिर परिचित प्रतिद्वन्द्वी हो। गत वर्षको अप्रिलमा भएको एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको थियो।
त्यतिबेला त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले ओमानविरूद्ध ३१० रन बनाएको थियो। ‘अवे’ सिरिजमा कमजोर देखिरहेको नेपालका लागि ओमानलाई पराजित गर्दै खेलमा फर्किने अवसर छ।
एकदिवसीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी२० सिरिज खेल्नेछ। त्रिकोणात्मक टी२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ। अमेरिका भ्रमणमा पनि नेपालले लिग–२ को त्रिकोणात्मक सिरिज र टी२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ।
लिग–२ को सिरिज अमेरिकाको टेक्सासस्थित ह्युस्टनको प्रिएरी भ्यूमा हुने तय भएको छ। सबै खेल अमेरिकाको स्थानीय समयअनुसार बिहान १०३० र नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।













