News Griha :: न्यूजगृह
सोमबारदेखि चीनतर्फका नाका खुला

काठमाडौं— लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आजदेखि खुला हुने भएका छन् ।  भूकम्पका कारण बन्द भएको मुख्यतः सिन्धुपाल्चोकको तातोपानीनाकासहित अन्य चिनियाँ नाका पनि सोमबारदेखि खुला हुने भएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरुप १८ वैशाखदेखि चीनतर्फका सबै नाका खुल्न लागेका हुन् ।

मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो ।

जसअनुसार मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाकालगायत आजबाट खुल्नेछन् ।

चीनतर्फका नाका मध्ये मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पका कारण बन्द भएको थियो भने रसुवाको केरुङ नाका कोभिड–१९ को महामारी पछि पूर्ण रूपमा सुचारु हुन सकेको थिएन ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०९:४२
Weather Update