News Griha :: न्यूजगृह
अयोग्य लडाकुलाई छिटोभन्दा छिटो दुई लाख रुपैयाँ दिनुपर्छ : सचिव पौडेल

काठमाडौं— नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले अयोग्य लडाकुलाई छिटोभन्दा छिटो दुई लाख रुपैयाँ दिनुपर्ने बताएका छन् । 

सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको दुई लाख रुपैयाँ छिटोभन्दा छिटो दिइनुपर्ने सचिव पौडेलले बताएका हुन् । उनले सो निर्णय यस अघिकै सरकारले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडी बढाएको बताए । 

राज्यले अयोग्य लडाकुहरूलाई रकम दिँदा देश कङ्गाल र बरबाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरूको अपमान हुने सचिव पौडेलले बताए । उनले भने, 'बहिर्गमित लडाकुहरूले ल्याएको प्रणालीमा रसास्वादन गर्न कसैले छेकेन । अनि उनीहरूलाई राज्यले अलिअलि सम्झिँदाखेरि कर्मचारी, शिक्षक, प्रहरीको कुरा तेर्स्याउन आवश्यक छ र ? कर्मचारी, प्रहरी, शिक्षकले तलब पाउनुपर्छ । राज्यले दिन्न कहीँ भनेको छैन । दिन्न भनेको छ र ? दिन्छ नि राज्यले । घाटा लागेर, केही भएर पनि जसरी पनि व्ययभार सम्हाल्छ ।'

अयोग्य लडाकुहरूलाई दुई लाख रुपैयाँको दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताए । उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुनुपर्ने समेत बताए । 

'त्यो प्रसङ्गमा एक अर्ब रुपैयाँ लाग्ला । एक अर्ब कुनै ठुलो रकम होइन । त्यो एक अर्ब रकम देश र जनताको पक्षमा हिजो हिँडेकाहरू जसको टाउकोमा अहिले पनि गोली छ । जसको छातीका दुई वटा करङ भाँचिएका छन् । त्यस प्रकारका व्यक्तित्वहरूलाई राज्यले सम्झिँदाखेरि भयानक देश चाहिँ कंगाल बन्छ, भयानक ठुलो धनराशि खर्च भएर बरबाद भयो भन्ने गरी कोकोहोलो गर्न खोजिँदै छ त्यो भनेको अपमान हो । ती योद्धाहरूले छिटोभन्दा छिटो राज्यले हिजो नै गरेको निर्णय, जो शान्ति प्रक्रियासँग सम्बन्धित छ',  उनले भने ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी ऐनको कुरासित पनि यो विषय जोडिएको भन्दै उनले शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग जोडिएको बताए । 

उनले लडाकुहरूलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताए । सचिव पौडेलले देशको परिवर्तनको निम्ति समर्पित भएका युवाहरूलाई राज्यले सम्झिँदाखेरि विरोध गर्नेहरूको विवेक

हराएको टिप्पणी गरे । उनले लडाकुको योगदानलाई पैसासँग तुलना गरिनु पनि उनीहरू प्रतिको अपमान भएको बताए । 'के हाम्रो समाजमा विवेक हराएको हो र ? उहाँहरूले जीवनलाई निकै कष्ट साध्य अवस्थामा देश र जनताको परिवर्तनको निम्ति समर्पित भएर आफूलाई होम्नुभएको थियो । ती युवालाई आज विरोध गर्ने युवाले आफ्नो साथी सम्झेर ती युवाले गरेको दुःख, कष्टप्रति अहिले प्राप्त भएको परिवर्तनको उपयोग गर्ने प्रसङ्गमा राज्यले सम्झिँदाखेरि किन विरोध गर्नुभएको होला ?',  उनले भने – 'त्यस कारण विवेक छैन समाजमा रु पैसासित तुलना गर्ने कुरा अझ उहाँहरूप्रतिको अपमान हो । राज्यले देश र जनताको पक्षमा, परिवर्तनको पक्षमा उभिएका व्यक्तिहरूलाई सम्झिँदा अपमान गर्ने झन् ?'

सचिव पौडेलले अनावश्यक कुराहरू गरेर लडाकुलाई पैसा दिने कुरा कसैले पनि अल्झाउनु नहुने बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १४:१२
Weather Update