News Griha :: न्यूजगृह
सरकारले निरीहता प्रकट गर्‍यो : केपी ओली

काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सलबलाउन थाल्दा पनि सरकार गम्भीर नभएको बताए ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ ? भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताए । 

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरे जसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको जिकिर गरे । 

ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उनले बताए । 

अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताए । 'हामी नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौं । अहिले  चौतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, जनताले पाएका अधिकारहरूको विरुद्ध सक्रिय भएर सलबलाउन थालेका छन्', उनले भने, 'कोही कोही दुलाबाट फुत्त निस्केलान कि जस्तो गरेर दुलोबाट मुसोले बिरालो हेरे जसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन् । नेपाली जनता सजग हुनु पर्दछ ।' 

अध्यक्ष ओलीले महानगरप्रति लक्षित गर्दै फोहोर नउठाएर रोग फैलाउन नपाइने समेत बताए । 'अहिलेको सरकार सरकारमा किन बसिरहेको छ ? जनताले हटाउन सकिराखेका छैनन् । त्यो आफ्नो ठाउँमा छ । तर सरकार नै किन बसिराखेको छ ? अचम्म लाग्दो छ किन बसिराखेको छ ? केही पनि गर्न नसक्ने सरकार । सिंहदरबारको फोहोर उठेन भन्यो । एउटाले फोहोर उठाउँदिन भन्यो । उसले उठाउने नै होइन । सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नै होइन', ओलीले भने, 'सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने ठेक्का अर्कैलाई लगाएको छ । अनि महानगरले उठाउन्न भन्यो । त्यसले उठाउने नै होइन सरकार भन्न सक्दैन । सरकारले लगाएको ठेकदारले उठाउन थपक्क छोड्यो । किन उठाउन छोड्यो ? ठेकदारले के सिंहदरबारमा फोहोर थुपारेर रोग फैल्याउन पाइन्छ ? कुनै प्रकारको षडयन्त्र गर्न पाइन्छ ? यहाँ फोहोरमाथि राजनीति गर्ने प्रपञ्च भइराख्या छ । जनतालाई पिर मर्का पार्ने काम भइराखेको छ । सरकार निरीह छ । केही गर्दैन ।'

सहरी विकास मन्त्रालयले नै ठेक्का लगाएर त्यहाँको फोहोर उठाउने काम भइरहेको भन्दै उनले ठेकदारले अन्यत्र पनि फोहोर उठाउने काम गरिराखेको बताए । उनले भने, 'जनतालाई थाहा छैन । अनेक प्रकारका खेलहरू, सबै कुरा अस्वस्थ, गलत क्रियाकलाप अन्तरगत गलत उद्देश्यका साथ भइराख्या छ । जसले उठाउने नै होइन, उसले किन भन्छ–म त्यहाँको फोहोर उठाउँदिन भनेर । जसले उठाई राखेकै छैन । कसरी भन्छ ? सरकार किन भन्दैन–उसले उठाउने गरेकै छैन भनेर । उसले उठाउन्न भन्ने बित्तिकै ठेकदारले किन उठाउँदैन ?'

यस्ता विषयमा सरकारले जनतालाई गुमराहमा पारिरहेको भन्दै उनले त्यसको पछाडिको कारण त्यो ठेकदारसँगको सरकारी सम्बन्ध के हो ? यसको खोजी गर्नुपर्ने अवस्था बन्दै गएको समेत बताए । उनले भने 'के हो सम्बन्ध ? देश यस्तो गम्भीर अवस्थामा छ । तर, सरकार यो गम्भीरतालाई बुझिराखेको छैन । यस गम्भीरतामा चलिराखेको छैन । यो बहुतै चिन्ताको विषय आज बनिराखेको छ ।'

त्यस अवसरमा ओलीले श्रमिकहरुबीच फाटो ल्याउने प्रयास फेरी पनि भइरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पारेर अघि बढ्न सबै मजदुरहरूलाई एकताबद्ध हुन आह्वान गरे । मजदुरको हक, हित र उनीहरूको जायज माग सम्बोधन गर्न उनीहरूको बीचको एकता सबैभन्दा ठुलो  बल भएको उनले स्मरण गराए ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:२१
Weather Update