1682939958.jpg)
काठमाडौं— नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन् ।
एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु) को प्रथम राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने उनको भनाई थियो ।
राजनीति मानिसका लागि घृणाको विषय बनेको बताउँदै उनले नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाए । उनले भ्रष्टाचार, सहज रुपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराश मान्दै गएको बताए ।
उनले भने, 'हामी देशको राजनीतिलाई पनि राम्रो दिशामा लैजान चाहन्छौँ । राजनीतिमा अनेकौँ फोहोर जमेको छ, त्यसलाई सफा गर्न चाहन्छौँ । राजनीति मानिसका लागि घृणाको विषय बनेको छ, किनभने विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ ।'
नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको भन्दै नेपालले नकारात्मक र निराशाजनक कुरामा जुध्नुपरेको पहिलो कारण भ्रष्टाचार र दोस्रो कारण सहज रुपमा सेवा प्रवाह नगर्ने प्रवृत्ति भएको बताए । जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्ति र नेताका कामहरूले जनताको निम्ति परिणाम दिन नसक्नु अर्को कारण भएको समेत बताए । उनले छिटो काम नहुने, रोजगारी प्रवर्द्धन नहुने, सीप नदिने समस्या देखिएको बताए ।
अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रवर्द्धन गर्ने र जनतामा सेवा सहज बनाउने कुरामा ध्यान दिनुपर्ने उनको भनाई थियो ।













