
काठमाडौं— परराष्ट्र मन्त्रालयले लेबनानमा कार्यरत नेपालीहरूले उद्धार गर्न नभनेको र उनीहरूले चाहेको अवस्थामा सरकार उद्धार गर्न तत्पर रहेको जनाएको छ। ‘अहिलेसम्म लेबनानमा कार्यरत नेपाली सुरक्षित छन्। उहाँहरूले उद्धारको आवश्यकता भएको भन्नुभएको छैन,’ परराष्ट्र प्रवक्ता अमृतबहादुर राईले भने, ‘यदि उहाँहरूले उद्धार चाहनुभयो भने सरकार उद्धार गर्न तयार छ।’ प्रवक्ता राईले नेपालले उद्धारको लागि सबै तयारी भने गरिएको बताए।
‘नेपाली लेबनानको राजधानीमा केन्द्रीत छन्। अहिलेसम्म कसैले सङ्कटमा परेको सूचना दिएको छैन। कसैलाई केही समस्या परेमा हामीले सम्पर्क गर्न अनुरोध गरिसकेका छौँ,’ उनले भने।
इजरायलले हेजवुल्लाह विरुद्ध बुधबारदेखि लेबनानभित्र प्रवेश गरेर स्थलगत आक्रमण सुरु गरेको छ। इजरायलले २४ वर्षपछि बुधबार राति बेरुतको मध्यभागमा क्षेप्यास्त्र आक्रमण गरेको थियो। यो आक्रमणमा ६ जना मारिएका छन्।
बेरुत आसपासमा करिब एक हजार नेपाली घरेलु श्रमिकका रुपमा कार्यरत छन्। उनीहरूले पछिल्लो समय अवस्था नाजुक बन्दै जान थालेको अनुभव गर्न थालेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विभिन्न देशहरूले आफ्ना नागरिकलाई लेबनानबाट बाहिर निकाल्ने प्रयासहरू बढाइरहेका छन्।
अमेरिका, क्यानडा, फ्रान्स, चीन लगायत देशहरूले आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह गरेका छन्। ती देशहरूले सरकारी चार्टर उडान र व्यवसायिक उडानमा सिट सुरक्षित गर्न थालेका छन्।
उनीहरूले उद्धारको लागि साइप्रस र टर्कीलाई ट्रान्जिट बिन्दुको रूपमा हेरिरहेका छन्। अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्न दर्जनौं अमेरिकी सेना साइप्रसमा तैनाथ गरिएको छ। लेबनानमा झन्डै ८६ हजार अमेरिकी नागरिक छन्। बेलायतले बिहीबार बेरुतबाट एक सय ५० जना नै नागरिकको उद्धार सुरु गरेको छ।
उसले साइप्रसबाट चार्टर उडान गर्ने तयारी गरेको छ। अष्ट्रेलियाले ५ सय जनालाई उद्धार गर्न व्यवसायिक सिट सुरक्षित गरिसकेको छ। चीनले दुई सय जना नागरिकलाई उद्धार गरिसकेको छ। क्यानडाले ८ सय जनाको सिट सुरक्षित गर्नुको साथै चार्टर उडानको लागि साइप्रस, ग्रिस र टर्कीसँग सम्झौता गरेको छ।
स्पेन, नेदरल्याण्ड्स, दक्षिण कोरिया र अन्य धेरै देशहरूले आफ्ना नागरिकहरूलाई स्वदेश ल्याउन लेबनानमा सैन्य विमान तैनाथ गरिरहेका छन्। लेबनानस्थित अवैतनिक नेपाली महावाणिज्य दूत मोहम्मद गोजायलले नेपाली श्रमिकको बाहुल्यता रहेको लेबनानको उत्तरी क्षेत्रमा कुनै घटनाहरू घटि नसकेको बताए।













