News Griha :: न्यूजगृह
बेमौसमी झरीले मर्न थाले भेडा, १० लाख क्षति

ढोरपाटन— चिसोले कठ्याङ्ग्रिएर भेडा मर्दा कृषकले लाखौँको नोक्सानी बेहोरेका छन् ।

एक सातादेखि परेको अविरल वर्षाका कारण बाग्लुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा कृषकले चरनका लागि ल्याएका ६० भेडा मर्दा करिब १० लाख क्षति भएको भेडापालक जोरप्रसाद घर्तीमगरले जानकारी दिए ।

८ वैशाखदेखि लगातार पानी पर्दा घाँस र दाना खाना नपाउँदा भेडा मरेको घर्ती मगरको भनाइ छ ।

उनी भन्छन्,‘पानी परेको धेरै दिन भयो, सुरुमा केही दिन हिउँ पनि थियो, पानीले गर्दा घाँस काटेर खुवाउन पनि सकेका छैनौँ, यहाँ हजार बढी भेडा भएको हुँदा सबैलाई काटेर खुवाउन सक्ने अवस्था पनि छैन, अहिलेसम्म साठी बढी भेडा मरे अझै मर्दैछन् ।’

पातीहाल्ने क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । चिसोले गर्दा जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।

हालसम्म जोरप्रसाद घर्ती मगरको २० वटा, सत गुरुङको २५, रास गुरुङको तीनवटा र प्रताप रोकाको १२ वटा भेडा मरेका छन् ।

मरेका भेडा केही खापामा छरपस्ट छन् भने केही गोठकै पल्टिएका छन् । बेँसीमा घाँस सकिएपछि ४ वैशाखमा पातीहाल्ने भेडा लिएर आएका पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का सत गुरुङले बताए । 

पातीहाल्ने क्षेत्रमा तीनवटै जिल्लाका भेडापालक कृषकहरू भेडा लिएर आएका छन् ।

उनीहरूको गोठ तथा वरपर धमाधम भेडा मर्न थालेका छन् । दिनमै दर्जन भेडा मर्ने गरेको उनीहरूको भनाइ छ । पातीहाल्ने क्षेत्र तीन हजार दुई सय मिटरको उचाइमा पर्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १९:४८
Weather Update