
काठमाडौं— नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको दाबी गरेका छन् ।
मङ्गलबार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे बुटवलमा न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।
उनले मङ्गलबार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने राखेको लक्ष्य हावादारी भएको प्रमाणित भएको बताए । उनले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दीमा गएको संकेत गरेको बताए ।
पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको दाबी गरे । उनले पछिल्ला दुई आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले मुलुकको अर्थतन्त्र जोखिममा परेको प्रमाण भएको बताए ।
उनले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र क्रमशः संकट र मन्दीमा धकेलिरहेको आरोप लगाए । उनले एमाले नेतृत्वको सरकारले अत्यन्त विषम परिस्थिति नाकाबन्दीको विरुद्धमा लड्दा, पूर्णनिर्माण गर्नुपर्ने अवस्था र कोरोना महामारीको विरुद्धमा नेपाल जुधिरहेको अवस्थामा समेत अर्थतन्त्र बिग्रनबाट जोगाएको बताए ।
उनले मुलुक आर्थिक रूपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुग्दा समेत वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौतीका बारेमा कुनै चासो चिन्ता नभएको बताए । उनले सरकारले अर्थतन्त्रको चुनौतीबाट मुुलुकलाई जोगाउन कुनै पहलकदमी नगरेको बताए । उनले सरकार अर्थतन्त्रका चुनौती समाधान गर्नुुपर्ने अवस्थामा बेसरोकारको अवस्थाबाट गुज्रिएरहेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या मुलुकको लागि चिन्ताको विषय भएको उल्लेख गरे ।













