News Griha :: न्यूजगृह
काफल बेचेर दैनिक दुई हजार आम्दानी

बाँके— मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ ।नेपालगन्ज, कोहलपुरलगायतका बजारमा यतिबेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ ।

काफल बिक्रीमा दैनिक दुई हजार आम्दानी हुने गरेको किसान बताउँछन् । रोल्पाबाट दाङ हुँदै नेपालगञ्जमा काफल बिक्री गर्न आएका व्यापारी खगेन्द्र बुढामगरले दैनिक चारदेखि पाँच क्यारेट (डाला) काफल बिक्री गर्ने बताए ।

काफलले नेपालगञ्जमा राम्रो बजार पाएको उनले सुनाए । काफल बिक्रीका लागि घोराहीबाट नेपालगजमा आएका अर्का व्यापारी हरि नारायण चौधरी यसबाट राम्रो आम्दानी भएको बताए । काफल स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

काफल पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कबिराम बढाथोकी बताउँछन् । पहाडमा पलेको काफलभित्रको पोषक तत्वलाई जोगाई ब्राण्डिङ गरेर बिक्री गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका पूर्ववडाध्यक्ष सुनिल सिंह हमालको भनाइ छ ।

काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको दुखाइ निको हुने वरिष्ठ आयुर्वेद डा.रामबहादुर बोहराको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १९:४६
Weather Update