News Griha :: न्यूजगृह
प्रचण्ड र देउवासँग लामिछानेको भेटवार्ता, रोजाइको मन्त्रालय नपाए समर्थन फिर्ता लिने तयारी

काठमाडौं— सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आइतबार (१७ वैशाख) मा प्रचण्डसँग भेटवार्ता गरेका सभापति लामिछानेले मंगलबार देउवासँग भेट गरेका हुन् । प्रचण्ड र देउवासँग रविले सरकारमा सहभागी हुने विषयमा छलफल गरे ।

सरकारलाई विश्वासको मत दिएको रास्वपाले १० वैशाखमा सम्पन्न उपनिर्वाचनपछि सरकारमा सहभागी हुन खोजिरहेको छ । सत्ता साझेदार दलहरू पनि रास्वपालाई सरकार ल्याउन चाहेका छन् । सोमबार चितवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा आउन आग्रह गरेका थिए ।

मंगलबार देउवासँग सभापति लामिछानेले सरकारमा सहभागी हुन चाहेको तर रोजेको मन्त्रालय दिनुपर्ने भनेको देउवा निकट स्रोतले जनाएको छ । रोजेको मन्त्रालयका लागि रास्वपाले देउवा र प्रचण्डसँग बार्गेनिङ गरिरहेको छ । उसले विश्वासको मत फिर्ता लिनेसम्मको चेतावनी दिने गरेको छ । चितवन–२ बाट चुनाव जित्नेबित्तिकै सभापति रविले ‘सरकारलाई आफूहरूको समर्थन रहन नसक्ने’ बताएका थिए ।

आगामी शुक्रबार रास्वपा संसदीय दलकाे बैठक बस्दैछ । बैठकले समर्थन फिर्ता लिने नलिने निर्णय गर्ने बताइएको छ ।

त्यसअघि लामिछानेले प्रचण्ड र देउवासँग भेटवार्ता गर्दै रोजाइको मन्त्रालय माग गरेका छन् । राेजेकाे मन्त्रालयमा देउवा र प्रचण्डले सहमति नजनाए शुक्रबार समर्थन फिर्ता लिने निर्णय गर्ने रास्वपाकाे तयारी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २२:३५
Weather Update