
काठमाडौं — उन्नाइस वर्षमुनि (यू–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट स्टेडियममा आज भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो।
श्रीलङ्काले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७८ रनमा समेटियो। नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाएका हुन्।
त्यस्तै नेपालका अर्का ओपनर आकाश त्रिपाठीले १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२/१२ तथा नरेन साउदले १६ रन जोडे। श्रीलङ्काका लागि प्रभिन महेशले तीन विकेट लिए भने न्युटान रन्जितकुमार, मथुलन कुगाथस र भिहास थिवमिकाले समान दुई÷दुई विकेट लिए। त्यस्तै वीरन चामुदिथले एक विकेट झारे।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरको अन्तिम बलमा सबै विकेट गुमाउँदै दुई सय सय ३३ रनमा समेटिएको थियो। श्रीलङ्काका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे।
त्यसैगरी लक्भीन अबेसिंगा ५० बलमा ५३ रन जोडे भने कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाउँदै रन आउट भए। दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४/२४ रन जोडे । नेपालका लागि सन्तोष यादवले चार विकेट लिए भने युवराज खत्रीले २ विकेट लिए।
कप्तान हेमन्त धामी र नरेन साउदले समान १/१ विकेट लिए । एसिया कपमा नेपालले यही मङ्सिर १६ गते आफ्नो दोस्रो खेल बङ्गलादेशसँग खेल्नेछ।













