News Griha :: न्यूजगृह
आउन थाल्यो नतिजा, कालीकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित

काठमाडौं — स्थानीय तह उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ । योसँगै अन्तिम मतपरिणाम आउनेक्रम पनि सुरु भएको छ। 

कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन्।

उनले १४३ मत ल्याएर विजयी हासिल गरेका हुन्।

महोत्तरीको रामगोपालपुर-२ मा मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयलगत्तै ६ बजेर ४५ मिनेटमा मतगणना सुरु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए।

कुल मतमा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए। कार्यालयका अनुसार करिब ३ घण्टामा मतगणना सम्पन्न हुनेछ । एक वडाध्यक्षका लागि उक्त वडामा २० जना उमेदवार छन् ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थलबाट सबै मतपेटिका समयमै ल्याएर मतगणना सुरु गरेको जनाएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको एक मतदानस्थलमा दुई केन्द्र बनाएर मतदान भएको थियो।

गोरखा नगरपालिका वडा नम्बर–५, जाजरकोटको कुशे गाउँपालिका ७ सहितका विभिन्न स्थानमा मतगणना सुरु भएको छ। अन्य स्थानमा पनि मतगणनाका लागि तयारी भइरहेको जनाइएको छ। निर्वाचन आयोगले यसअघि मतगणना स्थलमा मतपेटिका जम्मा हुनेबित्तिकै मतगणना सुरु गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १९:५९
Weather Update