
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहज नहुने बताएका छन्। झापामा बनेको दमक व्यापारिक कप्म्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले देश चलाउन, सिद्धान्त, नीति, सङ्कल्प र अठोट चाहिने जिकिर गरे। ‘कोही भ्रममा नपर्नु भए हुन्छ। देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ इङ्गित गर्दै देश चलाउन सहकारी ठगेजस्तो सहज नहुने पनि बताए।
‘सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन। अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओलीले भनेका छन्। सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति लामिछाने अहिले प्रहरी हिरासतमा छन्।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले विभिन्न जिल्लामा लगेर बयान लिइरहेको छ।













