
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न ओली बिहीबार दिउँसो सिंहदरबार पुगेका थिए । उक्त भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताएका छन् ।
उक्त भेटपछि सिंहदरबारबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति, कार्यक्रम र बजेटको विषयमा छलफल भएको बताए । उनले भने, 'समसामयिक राजनीतिक विषयहरू, आगामी वर्ष नीति, कार्यक्रम र बजेटबारे छलफल भयो ।'
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पार्टीको सचिव तथा सांसद टोपबहादुर रायमाझीको विषयमा पनि ध्यानाकर्षण गराएको बताएका थिए । सांसद रायमाझीलाई फसाउन खोजेको संकेत गर्दै उनले त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
ओलीनिकट स्रोतका अनुसार उक्त भेटमा संवैधानिक परिषद्को बैठक लगायतका विषयमा पनि संक्षिप्त छलफल भएको थियो । तर ठोस कुरा भने नभएको स्रोतले बतायो ।
गत १० पुसमा बनेको सात दलीय गठबन्धन फागुन ११ मा भत्किएपछि दुई नेताहरूबीच पहिलो पटक एक्ला एक्लै भेटवार्ता भएको हो ।













