News Griha :: न्यूजगृह
केन्द्रीय कमिटी बैठक अघि एमालेको कार्यालय र सचिवालय बैठक बस्दै
फाइल फोटो

काठमाडौं— नेकपा एमालेले आगामी केन्द्रीय कमिटी बैठकअघि कार्यालय र सचिवालय बैठक बोलाएको छ ।

२९-३१ वैशाखसम्म झापामा बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि कार्यालय र सचिवालय बैठक डाकिएको हो । २५ वैशाखमा महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक डाकिएको छ भने २६ वैशाखमा केन्द्रीय सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

कार्यालय बैठकपछि बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्ने बताइएको छ । केन्द्रीय कमिटीको बैठकमा पार्टी सुदृढीकरण अभियानअन्तर्गत एमालेले सञ्चालन गरेको दुई महिने 'मिसन ग्रासरूट' अभियानको समीक्षा गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक मुद्दामा पनि छलफल हुने कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । 

एमालेले ६ फागुनमा सुरु भएर ९ वैशाखमा सम्पन्न भएको अभियानको जिल्ला तथा प्रदेशस्तरीय समीक्षा सम्पन्न गरेको छ । केन्द्रीय कमिटी बैठकमा नेताहरूको जिम्मेवारी समेत हेरफेर गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १२:४०
Weather Update