
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझी मुछिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुलाई बताएका छन् । ‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा । आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जनरल कुरा राखेँ’ प्रचण्डले भने ।
नेपालीलाई भुटानी शरणार्थी बनाएरअमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एमाले सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारि भएको छ । यस्तै, एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।यसअघि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट बिहीबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए ।













