
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने जिकिरसमेत गरे । रफ्त सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यकता पनि औँल्याए । उनले सुविधाजनक बहुमत भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदैमा सरकारलाई सङ्ख्यात्मक हिसाबले खासै फरक पर्दैन,’ उनले भने, ‘अहिले पनि कम्फटेवल मेजरिटीको सरकार छ । ५ दलीय गठबन्धनको सरकार हो । र, गठबन्धनसँग पर्याप्त मत छ । सङ्ख्या छ ।’
अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए । ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन । र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो । गल्ती कहाँ छ ? त्यहाँ सच्याएर अघि बढ्ने बेला हो,’ उनले भने, ‘त्यसका लागि यो गठबन्धनमा हाम्रो पार्टीको धारणा के हो भने अगाडि बढ्नु पर्छ । सरकार स्थिर भएर काम गर्नुपर्छ ।’
राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरूले वर्तमान सत्तारूढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाइ छ ।
अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढन पनि सरकारलाई सुझाव दिए । थुप्रिएर रहेको पुँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको भनाइ छ ।













