News Griha :: न्यूजगृह
गठबन्धन बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष

काठमाडौं— सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत सत्तारूढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने,  ‘प्रधानमन्त्रीले अब फेरि विश्वासको मत लिनुपर्ने कानुन छैन, आजको बैठकमा भोलिदेखि चल्ने संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।’

अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर प्रधानमन्त्रीले बैठकमा सुझाव मागेको सचेतक पाण्डेको भनाइ छ । बैठकमा संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकता लगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा अधिवक्तासँग पनि प्रधानमन्त्रीले सुझाव लिएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका सन्दर्भमा गठबन्धनको बैठकले विश्वास मत लिनु नपर्नेमा निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा समेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी भएका थिए । यस्तैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी भए । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता थियो ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २१:०९
Weather Update