
आइतबार— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् ।
आइतबार गोरखापत्र संस्थानको १२३औँ वार्षिकोत्सवमा उनले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्दै सकारात्मकततर्फ लैजान सञ्चारमाध्यमहरूको भूमिका आवश्यक रहेको बताइन् ।
सरकार, सत्ता सञ्चालन गर्नेहरूबाट भएका कामहरूको बारेमा गोरखापत्रले विशेष स्थान बनाउनुपर्ने उनको भनाइ छ । उनले सकारात्मक कामहरूलाई व्यवस्थित ढंगले जनतासमक्ष पुर्याउनसके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य हुने बताइन् ।
यस्तै, मन्त्री शर्माले आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सरकारले पनि आवश्यक रहेको महसुस गरिरहेको र आम सञ्चार प्रतिष्ठान ऐन बनाउने अन्तिम तयारीमा सरकार पुगेको बताइन् । ‘यसको हामी करिब अन्तिम तयारीमा पुगेका छौँ । आम सञ्चार प्रतिष्ठान गठन गरेर यस क्षेत्रमा सबैको वृत्ति विकासमा हामी निरन्तर प्रयन्तरत छौँ,’ उनले भनिन् ।













