News Griha :: न्यूजगृह
कार्य व्यवस्था परामर्श समिति : छलफलमा सांसदको ई–हाजिरी

काठमाडौं— कार्य व्यवस्था परामर्श समितिमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउनेबारेमा छलफल भएको छ । 

आइतबार अपराह्न ४ बजेबाट सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बैठकलाई कसरी व्यवस्थापन र प्रभावकारी बनाउने भन्नेबारेमा कार्य व्यवस्था परामर्श समितिको बैठक छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले बताए । उनले सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जाने बारेमा छलफल भएको बताए । 

उनले सांसदहरूको हाजिरी अनलाइन हुनुपर्ने व्यवस्थाका बारेमा पनि छलफल भएको बताए । ‘हाम्रो हाजिरी अहिलेसम्म रजिस्टरमा गरिरहेका थियौँ, अब ई–हाजिरी लागु गरेर जानुपर्छ संसदमा भन्ने विषय र समितिका कामहरू व्यवस्थित बनाउने, सदनलाई प्रभावकारी कसरी गर्ने भन्नेबारेमा सुझाव दिने काम भयो,’ उनले भने । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आजको कार्य व्यवस्था परामर्श समितिको बैठकमा महिनाको एकपटक प्रधानमन्त्रीले संसद्मा जवाफ दिने बारेमा पनि छलफल भएको बताए । उनले बैठकमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउने बारेमा छलफल भएको बताए । 

‘सदनलाई प्रभावकारी बनाउने कुरामा छलफल भयो, सांसदहरू हाजिर गरेर हिँड्ने प्रवृत्ति छ, यसलाई ई–हाजिरी गर्ने व्यवस्थाका बारेमा कुरा भएको छ । बजेट अधिवेशनको बारेमा पनि छलफल भएको छ,’ उनले भने, ‘संसदलाई प्रभाकारी बनाउन अनिवार्य रुपमा महिनाको एक पटक प्रधानमन्त्रीले आएर सभामा जवाफ दिनुपर्ने कुरामा छलफल गरेका छौँ ।’

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १३:५८
Weather Update