
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको सिफारिसमा आचार्यलाई आइतबार मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आइतबारनै राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए । राष्ट्रपतिले प्रधानमन्त्री दाहालको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्री तोकेका छन् ।
योसँगै प्रधानमन्त्री प्रचण्डले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले पुसमा एक, माघमा तीनपटक, फागुनमा दुई, चैतमा एक र वैशाखमा तीनपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।













