
काठमाडौं— केही वर्षअघिसम्म कोरियन उत्पादन रामेन चाउचाउले नेपालमा खुबै मार्केट लियो ।
प्रति प्याकेट १८० रुपैयाँसम्म पर्ने कोरियन रामेनमा युवा पुस्ताको आकर्षण बढी देखिन्थ्यो । माग बढेपछि आयात बढ्ने नै भयो । चाउचाउको बजार नियालिरहेको यशोदा फुड्सले नेपाल मै पिरो चाउचाउको उत्पादन कसरी गर्न सकिन्छ भन्नेबारे अनुसन्धान थाल्यो ।
लामो अनुसन्धानपछि नेपाल मै उत्पादित पिरो चाउचाउले बजार पाउन सक्छ भन्ने पक्कापक्कीपछि यशोदा फुड्सले ‘करेन्ट’को उत्पादन सुरु गर्यो । उत्पादनको ६ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ ।
करेन्ट चाउचाउले स्वदेशमा मात्र होइन, विदेशमा पनि राम्रो बजार लिएको छ । विदेशमा पनि करेन्ट चाउचाउको मनग्य माग रहेको उत्पादक बताउँछ । उत्पादनको छोटो समयमै चाउचाउ नेपाली बजारमा सबैभन्दा लोकप्रिय हुनुका साथै भारत, अष्ट्रेलिया र अमेरिकाजस्ता मुलुकहरूमा पनि निर्यात हुँदै आएको छ ।

नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा जस्ता मुख्य शहरमा बढी बिक्री हुन्छ । अनलाइनमार्फत पनि करेन्ट चाउचाउ किन्न पाइन्छ । ‘नराम्रोलाई सुधार्दै लैजाने र राम्रोलाई अझै राम्रो बनाउने प्रयास जारी नै रहनेछ,’ कम्पनीको भनाइ छ ।
करेन्टले विदेशी ब्रान्डको हालिमुहाली तोड्यो
पिरो चाउचाउमा विदेशी ब्रान्डको हालिमुहाली हुँदै आएको नेपाली बजारमा करेन्ट चाउचाउको उदयसँगै १५ प्रतिशतले आयातमा कमी आएको छ। नेपाली ग्राहकलाई स्वदेशी परम्परागत स्वाद चखाउने उद्देश्यले उत्पादित करेन्ट चाउचाउलाई स्थानीय बजारमा अत्यधिक रुचाइएको छ ।
नेपाल मै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ । ‘दाङदेखि दुबईसम्म, मकवानपुरदेखि मलेसियासम्म’ करेन्ट चाउचाउको लोकप्रियता चुलिएको कम्पनीको दाबी छ । र, आगामी दिनमा विदेशी बजारमा अझै आक्रामक भएर विस्तार गर्ने योजनामा कम्पनी छ ।
कृषि क्षेत्रमा योगदान :
पिरो चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्सले आफ्नो उत्पादनलाई रैथाने स्वाद दिनका लागि नेपालकै कृषि उत्पादनहरूको प्रयोग गर्दै आएको छ । कम्पनीले करेन्ट चाउचाउ उत्पादनका लागि ५ जिल्लाका १० हजारभन्दा बढी कृषकमार्फत अकबरे खुर्सानी लगायत कृषि उत्पादनहरू खरिद गर्दै आएको छ ।
कम्पनी कै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन सुरु गरेका छन् । ‘हामीले मकवानपुरबाट खरिद मात्र गर्ने हो गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जाको केही किसान र समूहलाई समेत लगानी लगाइ खुर्सानी खेतीमा प्रोत्साहित गरेका छौँ,’ कम्पनीको भनाइ छ । कम्पनीले चाउचाउमा प्रयोग हुने पिरो सुपका लागि शतप्रतिशत नेपालमै उत्पादन भएको अकबरे खुर्सानी प्रयोग गर्दै आएको छ । ‘नेपाली उत्पादन करेन्ट यसरी सबैमाझ परिचित हुनु देशको लागि एउटा गर्वको कुरा हो,’ कम्पनीले भनेको छ, ‘त्योबाहेक नेपालमै पसिना बगाउन चाहने किसानका लागि अवसर र व्यापार व्यवसाय गर्ने सोचराख्नेहरूका लागि एक उत्कृष्ट उदाहरण पनि हो ।’

वरिष्ठ अर्थशास्त्री प्रतीक झाका अनुसार यशोदा फुड्सले व्यापार सँगै नेपाली कृषि उत्पादन बढाउनमा पनि ठूलो योगदान पुर्याएको छ । ‘ओरालो लाग्दै गरेको अर्थतन्त्र जोगाउनदेखि गरिबीको घाउमा मलम लगाउन । राष्ट्रलाई परनिर्भरताबाट जोगाउनदेखि स्वदेशी उत्पादन निर्यात गर्नसम्म यशोदा फुड्सको करेन्टले नेपाली बजारको तीता र कहाली लाग्दा कहानीमा मिठो रङ्ग भर्दैछ,’ झा भन्छन् ।
गज्जबको रोजगारी सृजना :
कम्पनीले युवाहरूको लागि स्वदेश मै रोजगारी सृजना गरेको छ ।
करेन्ट चाउचाउ कै कारण प्रत्यक्ष र परोक्ष १५ हजार बढीले रोजगारी पाएको कम्पनीको दाबी छ । ‘कम्पनीले युवाहरूलाई देश मै केही गर्न सकिन्छ भनेर प्रोत्साहन गर्दै आएको छ’, यशोदा फुड्सले उल्लेख गरेको छ, ‘रोजगारी, देशको आर्थिक विकास र खस्कँदो कृषि क्षेत्रको पुनरुत्थानमा विशेष प्रभाव पार्ने यस कम्पनीले गरिब सीमान्तकृतबालबालिकाहरूलाई छात्रवृत्तिलगायत अन्य थुप्रै राष्ट्रिय हितका कार्यहरू पनि गर्दै आएको छ ।’
करेन्टले उपभोक्ताको स्वास्थ्यमा कुनैपनि प्रभाव पार्दैन
यशोदा फुड्सले ७ मे सन् २०१७ देखि रूपन्देहीको तिलोत्तमाबाट आफ्नो उत्पादन सुरु गरेको हो । छोटो समयमै बजारमा स्थापित ब्रान्ड बनिसकेको करेन्ट चाउचाउले जनस्वास्थ्यमा पनि उत्तिकै ध्यान दिँदै आएको छ ।
अकबरे खुर्सानी बाहेक पिरोका लागि कुनै प्रकारका केमिकल नमिसाइएको कम्पनीले दाबी गरेको छ । ‘हाम्रो उत्पादनले आम उपभोक्ताको स्वास्थ्यमा कुनैपनि प्रभाव पार्दैन । त्यसैले पनि करेन्टको माग बढेको हो,’ कम्पनी भन्छ,‘ हामी परिमाणमा भन्दा गुणस्तरमा प्रतिस्पर्धा गछौँ ।’













