
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् ।
आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताएका हुन् ।
उनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताए । उनले वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
‘अब वाइडबडी काण्ड, एनसेल, ललिता निवास जग्गा प्रकरणको फाइल खोल्नुपर्यो,’ उनले भने, ‘प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ । क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्यो । तर, भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्यो भने लामो समय पत्याइँदैन यो कुरालाई ।’
अध्यक्ष लिङदेनले देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा रहेको भएपनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको बताए । ‘सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा छ । आगामी यात्रा सरकारको के हो भन्नेकुरा कसैले पनि बुझ्न सकिँदैन,’ उनले भने, ‘आर्थिक अवस्था दिनदिनै ओरालो लागेको अवस्था छ ।’
अध्यक्ष लिङदेनले देशमा नाङ्गो रूपले विदेशी हस्तक्षेप बढेको बताए ।













