काठमाडौं— सङ्घीय संसद्को बर्खे अधिवेशन आइतबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेदेखि राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक प्रारम्भ भएको छ । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।
यस अधिवेशनमा मुख्य रूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अधिवेशन प्रारम्भसँगै प्रि–बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने जनाइएको छ ।













