
काठमाडौं— राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एवं नेपाल-भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआनबीच शिष्टाचार भेटघाट भएको छ ।
अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्व गृहमन्त्री तुआनबीच सोमबार बिहान अध्यक्ष निवास बालुवाटारमा शिष्टाचार भेटघाट भएको हो ।
भेटका क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो । भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिँदै दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले विशेष भूमिका खेलेको बताए ।
बुद्धको जन्मस्थल लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्न सकेमा अझै जनस्तरको सम्बन्ध विकास हुने विश्वास समेत उनले व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्दै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउँदै दुवै देशका बीचमा रहेको व्यापार घाटा घटाउन आवश्यक पहल गर्न पनि आग्रह गरे ।
नेपालले भियतनामबाट मसला (मरिच), ताजा तथा सुकाइएका फलफूल, माछा, मासु आयात गर्छ भने नेपालले भियतनामतर्फ मासु, कुकुर र बिरालोको खाना निर्यात गर्दै आएको छ । अध्यक्ष तिमिल्सिनाले भियतनामले तीन दशकअघि लागु गरिएका आर्थिक सुधारका कदमहरूको फलस्वरूप भियतनामले हासिल गरेको उच्च आर्थिक वृद्धिप्रति खुसी समेत व्यक्त गरे ।
सो भेटमा पुर्वगृहमन्त्री तुआनले बुद्धको जन्मस्थल धेरै भियतनामीका लागि पवित्र स्थलको रुपमा रहेको उल्लेख गर्दै सिधा हवाई सेवा सुचारु गर्न तथा व्यापार घाटा घटाउनका लागि पनि पहल गर्ने बताए ।













