
काठमाडौं— राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा छलफलमा सहभागी हुँदै सोमबार उनले यस्तो माग गरेका हुन् । उनले नेपालमा पर्याप्त जनशक्ति रहेको र त्यसको सही उपयोग गर्न आवश्यक रहेको बताए ।
उनले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय चाहिने बताए । उनले तत्काल मन्त्रालय बनाउन नसके स्वास्थ्य मन्त्रालयको छुट्टै विभागका रुपमा भने पनि स्थान दिनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, 'भर्खरै हाम्रो जनसङ्ख्याको तथ्याङ्क आएको छ, यसले पनि देखाएका छ, हामी बारम्बार भनिरहेका छौँ, हामीसँग जनशक्ति छ, त्यसको उपयोग गर्नुपर्छ । जनशक्तिको उपयोग गर्न छुट्टै मन्त्रालय चाहिन्छ, अहिले मन्त्रालय नै राख्न सकिँदैन भने स्वास्थ्य मन्त्रालयको सानो डेस्क बनाएर विभाग बनाएर जनसङ्ख्याको काम हुँदैन । यत्ति धेरै हामीसँग जनशक्ति छ, अहिले काम खोज्नेलाई काम छैन, कामदार खोज्नेलाई कामदार छैन । के मिलिरहेको छैन । हामीलाई केमा कस्तो स्किल भएका व्यक्ति चाहिन्छ, कहाँ काम छ, यसको लागि ठुलो लेखाजोखा गर्न जरुरी छ । जनशक्तिको भरण पोषण गर्ने मन्त्रालयको जरुरी छ ।'
उनले जलवायु परिवर्तनको प्रकोपलाई रोक्न पुँजी वृद्धि गर्न जरुरी रहेको बताए । इन्धनको आयातका कारण बजेट घाटा भएको भन्दै विद्युतीय ऊर्जाको बढी प्रयोग गर्ने कुरामा बजेटमा प्राथमिकता हुनुपर्ने बताए ।













