
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विन्दवासिनी कंसाकार प्रतिनिधिसभा सदस्य चयन भएकी छिन् । रास्वपाको सिफारिसमा निर्वाचन आयोगले उनलाई प्रतिनिधिसभाको प्रमाणपत्र समेत प्रदान गरेको छ ।
व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड माग गरेको अडियो बाहिरिएपछि पार्टीको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो । पार्टीको सिफारिसमा आयोगले उनलाई सदस्यको प्रमाणपत्र दिएको हो ।
तर, ढाकाकुमारलाई सांसद पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सोमबार सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ । उक्त अडियो बाहिरिएपछि ढाकाकुमार सर्वोच्च गएका थिए ।
सोमबार सर्वोच्चले पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई रास्वपाले गरेको कारबाहीविरुद्ध दिएको रिटमा सर्वोच्च अदालतले रास्वपासँग लिखित जवाफ समेत मागेको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई १५ दिनभित्र (बाटाको म्यादबाहेक) लिखित जवाफ दिन आदेश दिएको छ ।
सर्वोच्चले निवेदकको मागबमोजिम अन्तरिम आदेश हुने/नहुने आगामी ५ जेठमा छलफल हुने पनि बताएको छ । सर्वोच्चले यस विषयमा अर्को आदेश नभएसम्मका लागि रास्वपाले सांसद सिफारिस गरेकी विन्दवासिनी कंसाकारको निर्णय पनि अघि नबढाउन समेत भनेको छ ।
अदालतको आदेशसँगै आयोगले प्रमाणपत्र दिए पनि कंसाकारको तत्काल शपथ भने नहुने भएको छ । श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसद्मा पढेर सुनाइसकेका छन् ।













